![](https://ekapinews.com/wp-content/uploads/2024/02/co.jpg)
दाङ, १६ फागुन । प्रेस काउन्सिल नेपालले डेढ वर्षको अन्तरालमा १ सय ८३ अनलाइनलाई समाचार चोरी गरेकोमा कारबाही गरेको छ । काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षदेखि हालसम्मको अवधिमा समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १ सय ८३ अनलाइन सञ्चार माध्यमलाई कारबाही गरेको जनाएको हो ।
त्यसरी कारबाहीमा पर्नेमा १ सय ४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको काउन्सिलले जानकारी दिएको छ ।
’स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ,’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निणर्य गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निणर्य भएको हो ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।
अध्यक्ष बस्नेतले अनलाइनको संख्यात्मक मात्र नभई गुणात्मक बृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन् कडाइ गर्ने बताए । ’सञ्चार माध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन । विश्वसनीयता पनि घट्छ । यसतर्फ गम्भीर भई काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ,’ उहाँले भन्नुभयो ।
काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न संचारमाध्यमविरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका बताइएको छ । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आर्थिक वर्ष समेतको गरी १ सय ६० वटा उजुरी फर्छ्यौट भएको काउन्सिलले जनाएको छ ।