२०८१ मङ्सिर २२ गते शनिवार

थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ

काठ्माण्डौ, १२ फागुन । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षकी मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।

शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् ।

बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । मनीषाका श्रीमान नेपाली सेनामा कार्यरत छन् ।

बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस