२०८१ चैत्र ८ गते शुक्रवार

विद्यार्थीले चालकलाई लाईसेन्स मागेपछि….

तुलसीपुर, २८ माघ । रविना खत्री मेट्रो कलेजमा अध्ययन गर्छिन् । तर आईतबार उनी तुलसीपुरको ‘क’ लाईनमा भेटिईन ।

उनले सडकमा चलिरहेका सवारी साधन रोक्दै ब्लु बुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जाँच गरिरहेकी थिईन् ।

‘आज हामीले एक दिनका लागि ट्राफिक प्रहरीले गर्ने काम गरेका छौँ ।’ उनले भनिन्-‘धेरैले ट्राफिक नियमको पालना गरेको देखिएन् ।’

एक दिने प्रयोगात्मक कक्षाको रुपमा ट्राफिक भोलेन्टीएरको रुपमा सवारी चालकलाई जाँच गरिएको उनले बताईन् ।

‘फिल्डमै एक दिन भएपनि ट्राफिक प्रहरीको काम गर्न पाउँदा धेरै कुरा सिक्ने मौका पाएको छु ।’ उनले भनिन्-‘अहिलेसम्म करिब २५/३० जना सवारी चालकको कागजपत्र जाँच गरेँ । तर धेरैले ट्राफिक नियमको पालना नगरेको भेटेको छु ।’

उनीसंगै रक्षा पौडेल पनि ट्राफिक प्रहरीको काम गरिरहेकी थिईन् । ‘आज हामी प्रयोगात्मक कक्षा अन्तर्गत ट्राफिक जाँचमा छौँ, धेरै सवारी चालकको कागजपत्र चेक गर्दा धेरैले साथमा कागजपत्र नबोकेको भेटियो ।’ उनले भनिन-‘विषेशगरी युवापुस्ताले बढी लापरबाही गरेको भेटेका छौँ ।’

ट्राफिक नियमको पालना नगर्ने सवारी चालक युवालाई सम्झाउँदा पनि नमान्ने गरेको उनले बताईन् ।‘युवालाई जाँच गर्दा तिमिहरुले मलाई चिनेको छैनौँ भन्ने धम्कि पनि आए ।’ उनले भनिन्-‘आफ्नै लागि सम्झाउँदा पनि गलत बुझ्ने युवा पुस्ता पनि फेला पार्‍यौँ ।’

ममता वलीले पनि सवारी चालकलाई सम्झाउँदै गरेकी थिईन् । विपि चोक नजिकै चलिरहेका सवारी साधन रोकेर आवश्यक कागजपत्र जाँच गरिरहेकी वलीले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरिरहेकी थिईन् ।

‘तपाईहरुको आफ्नै सुरक्षाको लागि कागजपत्र बोक्ने र हेल्मेट लगाउने हो ।’ उनले भनिन्-‘ट्राफिक नियमको पूणर्तया पालना गर्नुहोस् ।’ उनले एक दिनमा मात्रै पनि निकै हम्मेहम्मे परेको बताईन् ।‘हामीलाई एकै दिन त हम्मे हम्मे परेको छ ।’ उनले भनिन्-‘ट्राफिक प्रहरीलाई दिनदिनै झन् निकै गाह्रो हुँदो हो ।’

धेरैले बुझेपनि नबुझे झैँ गरिदिँदा समस्या हुने गरेको उनले बताईन् । ‘रोक्नुस् भन्दा कतिपयले नसुने झैँ गरेको देखियो ।’ उनले भनिन्-‘सुरक्षित यात्रा बनाउनेबारे सिकाउन खोज्दा पनि कतिपय रिसाउने गरेको भेटिएको छ ।’ एक दिनका लागि ट्राफिक बनेका उनीहरु सबै बिएएलएलबि चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

उनीहरुले तुलसीपुरको मूख्य रोड क लाईनमा आइतबार ट्राफिक प्रहरीको काम गरेका हुन् । ट्राफिक प्रहरीको साथमा उनीहरुले सडकमा आवातजावात गर्ने सवारी चालकको कागजपत्र जाँच गरेका छन् । सवारी जाँचका क्रममा धेरैले साथमा कागजपत्र नबोक्ने गरेको भेटिएको करुणा बिष्टले बताईन् ।

‘क्लिनिकल ल अन्तर्गत हामीले अघिल्लो दिन प्रशिक्षण लियौँ र आज ट्राफिक प्रहरी संगसंगै सवारी चालकको कागजपत्र जाँच गरेका छौँ ।’ कतिपय सवारी चालकको अनुशासनमा कमि देखिएको उनले गुनासो गरिन् ।‘एक जनाले त म कसको छोरा हो चिन भनेर भन्नुभयो ।’ उनले भनिन्-‘ट्राफिक भोलिन्टीएर हो भन्दा पनि पत्याउनु भएन ।’

कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई ट्राफिकसंगै सवारी साधन जाँचमा पठाएको कलेज प्रमुख बसन्त आचार्यले बताए । ‘विद्यार्थी आफैलाई सवारी चालकको कागजपत्र जाँचमा पठाएपछि कम्तीमा उनीहरु र उनीहरुको परिवारले ट्राफिक नियमको पालना गर्छन् ।’ उनले भने-‘यसले पनि विद्यार्थीलाई नैतिकवान बनाउन सिकाउँछ र सवारी चलाउँदा ट्राफिक नियमको पालना गरेका छन् ।’

कलेजले विभिन्न समयमा विद्यार्थीलाई किताबी कुराभन्दा बाहिरको कुराको पनि बोध गराउने गरेको उनले बताए ।

विद्यार्थीले ट्राफिक प्रहरीको जस्तै भूमिका निभाएको देख्दा आफु अचम्मीत परेको सवारी चालक डिला न्यौपानले बताईन् । ‘स्कुटी रोक्नुस् भनेपछि मैले स्कुटी रोकेँ । उनले भनिन्-‘धन्न आज कागजपत्र बोकेको थिएँ, तर अब सधैँ कागजपत्र बोकेर हिड्छु ।’

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस