२०८१ माघ ९ गते बुधवार

दाङमा प्रहरी जवानबाटै श्रीमती र छोराको हत्या

दाङ, २१ माघ । दाङमा प्रहरी जवानबाटै श्रीमती र छोराको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताउनुभयो ।

नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको ग्रिन पिस होटलमा बसेका थिए ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन् ।

नेपालीको घर रुन्टीगढी गाउँपालिका-९ रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो ।

मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।

उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस