२०८१ माघ १ गते मङ्गलवार

माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने विजय पक्राउ

बर्दिया । काँचो माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने व्यक्ति पक्राउ परेका छन् ।

बर्दिया जिल्ला कारागारमा कैदीलाई भेट्ने बहानामा काँचो माछाभित्र प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाएर लैजान खोज्ने जिल्लाको गुलरिया नगरपालिका – २ संगमबस्तीका २२ वर्षीय विजय तिरूवा पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालले बताउनुभयो ।

कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले जाँच गर्ने क्रममा माछाभित्र लुकाई लैजान लागेको ब्राउन सुगर बरामद गरिएको डिएसपी अर्यालले बताउनुभयो । उहाँले पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन बाँकी रहेको बताउनुभयो ।

विजयले काँचो माछाभित्र ५२० मिलीग्राम ब्राउन सुगर लुकाएका थिए ।

विजयले जेलमा रहेका साथीको आग्रहमा माछाभित्र ब्राउन सुगर राखेर पुर्‍याउन गएको बयान दिएका छन् ।

बुधबार नै जिल्लाको मधुवन नगरपालिका – ५ गाउँ नम्बर १० का २४ वर्षीय किरण पुन मगर १ ग्राम ६३० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय ढोढरी र सानो श्रीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा किरणलाई घरबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस