२०८१ बैशाख ५ गते बुधवार

शिवराज केसीको हत्यामा संलग्न चार जना पक्राउ

दाङ, १८ पुस । दाङमा एक व्यक्तिको हत्यामा संलग्न रहेको प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ४५ वर्षिय शिवराज केसीको हत्यामा संलग्न बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर मगर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर मगर , दीपाका भाइ २९ वर्षीय तिलक पुन र मेघराज कुँवर मगरलाई पक्राउ गरेको हो ।

उनीहरुलाई लमही नगरपालिका वडा नम्बर ९ को अमिलिया जंगलमा लुकिछिपी बसेको अवस्थामा गत आइतबार (पुस १५ गते) पक्राउ गरेको हो ।

केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ६० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो ।

छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डिएसपी जनकबहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार छातीमा गोली लागेको घाउ छ ।

प्रहरीले केसीको हत्यामा प्रयोग भएको बन्दुक सहित पक्राउ गरेको हो । शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिएको छ ।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किनुभएको थियो । उनी सम्पर्कबिहीन भएपछि खोजी सुरु गरिएको थियो ।

शिवराजको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो । स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको हो ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस