२०८० फाल्गुन २२ गते मङ्गलवार

रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ

पोखरा, ७ पुस । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।

अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।

ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उहाँले भन्नुभयो ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’ प्रत्यक्षदर्शी सौगात पोखरेलका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस