२०८१ माघ २ गते बुधवार

दाङमा एक हजार पाँच सय बढी जग्गामा मोेही हक

दाङ, २२ असोज । भुमिसुधार तथा मालपोत कार्यालय दाङमा आर्थिक वर्ष २०७८/०७९ सम्ममा एक हजार पाँच सय २८ मोही हक नामसारीसम्बन्धी मुद्दा रहेको छ । जसमा तीन सय छवटा फछर्यौट भई एक हजार दुई सय २२ मुद्दा बाँकी रहेको छ ।

मोही बाँडफाँडमा तीन सय ७० मुद्दा फछर्यौट गर्न बाँकी रहेको छ । आर्थिक वर्ष ०७९/०८० मा मात्रै एक सय आठ मोही हक नामसारी सम्बन्धी मुद्दामा ३९ वटा फछर्यौट भई ६९ मुद्दा बाँकी देखिएको छ ।

पारिवारिक मोही लगत कट्टा ५४ वटा भएका छन् भने पाँच वटा बाँकी छन् । चालु आर्थिक वर्षको बुधबारसम्म पारिवारिक जम्मा दर्ता नौवटा भएकोमा तीनवटा फछ्र्यौट, नामसारीका २९ मुद्दामा पाँच फछ्र्यौट भएका छन् भने जग्गाधनी फेला नपरेका निवेदन २१ वटा परेका छन् ।

जिम्मेबारी सर्दै आएका २० बर्ष देखिका मुद्दा र फाइलको चाङ कार्यालयमा रहेको पाइएको हो । अहिले पनि एक हजार सात सय ८० मुद्दा विचाराधीन रहेका छन् । नयाँ जग्गाधनीले तामेल बुझ्न नमान्दामोही मुद्दाको टुंगो लाग्न नसकेको कार्यालयका खरिदार विमला खनाल बताउनुभयो । उहाँले मोहीले जग्गाधनी नचिन्ने जग्गाधनीले मोही नचिन्ने अवस्था पनि रहेको बताउनुभयो ।

उहाँले नयाँ रजिष्ट्रेशनमा मोही भए नभएको एकीन गरी मोही कट्टा गरेर मात्रै जग्गा किन्न सबैलाई अनुरोध गर्नुभएको छ । कार्यालयका अनुसार साना साना घडेरी किनेर घर बनाएकामा मोही पर्दा पनि मिलापत्रमा समस्या भएको छ ।

भुमिसुधार तथा मालपोत कार्यालय दाङको भुमिसुधार शाखामा अझै पनि मोहीका मुद्दा पर्ने क्रम जारी छ । एकातिर २० वर्षभन्दा पुराना मुद्दाको टुंगो अझै लागेको छैन भने अर्कोतर्फ थपिने मुद्दाको तुलनामा फछ्र्यौट कम देखिएको छ । गत आर्थिक वर्षमा दुई सय ६९ लगतमा एक सय ५५ मात्रै फछर्यौट भएको छ । एक सय १४ अझै बाँकी रहेको कार्यालयले जनाएको छ ।

जिम्मेवारी सरी आएका एक हजार पाँच सय ९४ र नयाँ दर्ता दुई सय ६९ समेत गरी जम्मा एक हजार आठ सय ६३ मा जम्मा दुई सय ८३ मात्रै फछ्र्यौट भएको कार्यालयले जनाएको छ । जसमा एक वर्ष नाघेका एक हजार तीन सय ३८ मुद्दा छन् । हालसम्म दाङमा मोहीसम्बन्धी परेका मुद्दामा फर्छ्यौट हुन बाँकी मुद्दाको संख्या धेरै रहेको छ । भूमिसुधार कार्यालयले दिएको जानकारीअनुसार हालसम्म दाङमा एक हजार पाँच सय ८० मोही सम्बन्धी मुद्दा फछर्यौट हुन बाँकी छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस