२०८१ मङ्सिर २२ गते शनिवार

सरकारी विद्यालयमा घट्दै विद्यार्थी

दाङ, २१ भदौ । दाङका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाई दाङले तयार पारेको विवरण अनुसार विगत तीन वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना घटेको छ भने संस्थागत विद्यालयमा बढ्दै गएको देखिएको छ ।

सामुदायिक विद्यालयको खस्कदो गुणस्तरको कारण वर्षेनि विद्यार्थी भर्ना घटेको हो । २०७९ सालमा माध्यमिक तहसम्म एक लाख सात हजार पाँच सय ६४ विद्यार्थी भर्ना भएकोमा २०८० मा दाङमा जम्मा ९८ हजार दुई सय ७५ जना विद्यार्थी भर्ना भएका छन् ।

सबै बालबालिकालाई विद्यालयमा भर्ना अनिवार्य र निःशुल्क शिक्षाको लागि सरकारले शिक्षा क्षेत्रमा वर्षेनि लगानी बढाउदा समेत सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घट्दै गएको सरकारी रेकर्डले देखाएको छ ।

जिल्लामा गत वर्ष माध्यमिक तहमा ५५ हजार नौ सय छात्रा र ५१ हजार छ सय ६४ छात्र थिए । यस वर्ष ५१ हजार एक सय १७ छात्रा र ४७ हजार छ सय सात छात्र सामुदायिक विद्यालयमा पढ्न भर्ना भएका छन् ।

२०७८ सालमा माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा एक लाख सात हजार पाँच सय ८० विद्यार्थी भर्ना भएका थिए । त्यस वर्ष ५६ हजार एक सय १८ छात्रा र ५१ हजार चार सय ६२ छात्र सामुदायिक विद्यालयमा भर्ना भएका थिए । जिल्लामा सबै भन्दा धेरै विद्यार्थी कक्षा १-५ का घटेका छन ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस