दाङ, १२ भदौ । तुलसीपुर–१ का थामप्रसाद भण्डारी करिब आठ महिनाअघि विदेश जाने सोच गरे । रोजगारीको शिलशिलामा भारतमा रहेका थामप्रसादलाई धेरै तलब थिएन । त्यसैले पनि मलेसिया जान सोच गरे । तर कसरी विदेश जाने थाहा भएन । त्यसै शिलशिलामा गाउँकै चिनेजानेको दाइसँग भेट भयो । त्यसपछि चिनेकै दाइले थामप्रसादलाई काठमाडौँमा लगेर गए ।
काठमाडाँै गएपछि निमप्रसाद धितालसँग भेट भयो । निमप्रसाद पनि तुलसीपुर–१ कै हुन् । तर काठमाडौँमा बसेर विदेश पठाउने काम गरिरहेका छन् । उनलाई पनि निमप्रसादले विदेश पठाउने भए । विदेश पठाउने भएपछि थामप्रसादले पनि उनको हातमा पासपोर्ट थमाए । पासपोर्ट थमाउँदा ८० हजार बुझाए ।
थामप्रसादले पासपोर्ट र रकम बुझाएपछि विदेश जाने पखाईमा बसे । पासपोर्ट र पैसा बुझाउँदा निमप्रसादले एक महिनाभित्रमै विदेश पठाउने आश्वासन दिएका थिए । तर दुई महिना बित्दा पनि विदेश जाने कुनै संकेत देखिएन । दिन बित्दै जाँदा पाँच महिना पुग्यो । थामप्रसाद र उनका साथीले फेरि पाँच महिना पुगेपछि फेरि ५०/५० हजार बुझाए ।
तैपनि विदेश जाने आश्वासनमात्र पाए । त्यस बिचमा भिसा आइसकेको भनेपछि काठमाडाँै गए । काठमाडाँैमा करिब एक महिना बसे । तर विदेश जान पाएनन् । त्यसपछि उनी आफू ठगिएको थाहा पाए । थामप्रसादसहित तीनजना विदेश जाने प्रक्रियामा थिए । तीनजनामध्ये एकजनामात्रै विदेश गए । तर दुईजनाको १ लाख ८० हजार लिएर अहिले निमराज फरार छन् ।
फोन सम्पर्क गर्दासमेत फोन उठाउन छोडेपछि रकम बुझाएका थामप्रसाद चिन्तित छन् । ‘फोन पनि कालोसूचीमा राखिएको छ, अर्को नम्बरबाट फोन गर्दा पनि उठ्दैन् ।’ उनले भने– ‘विदेश जानका लागि ऋण गरेर ल्याएको पैसा ल्याएको थिएँ, त्यहि पैसा लगेर फरार भएपछि हामी चिन्तित छौँ ।’
यस्तै बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका रामकृष्ण गाहले १३ महिनाअघि मलेसिया जानकै लागि निमप्रसादलाई ५० हजार बुझाए । तर मलेसिया अहिलेसम्म जान पाएनन् । मलेसिया जान नपाएपछि उनले २५ हजार फिर्ता पाए । तर २५ हजार अझै फिर्ता पाएका छैनन् । ‘विदेश जाने नभएपछि २५ हजार लामो समयपछि फिर्ता पाएको छु’ उनले भने– ‘२५ हजार त अझै फिर्ता पाएको छैन् ।’ अहिले निमप्रसाद सम्पर्कबिहीन रहेको उनले बताए ।
‘लामो समय भयो, सम्पर्क भएको छैन्’ उनले भने– ‘फोन गर्दा पनि फोन उठ्दैन् ।’ उनीसँगै गएका १२ जना पनि ठगिएको उनले बताए । ‘मसहित १२ जना ठगिएका छौँ’ उनले भने– ‘मेरो रकम त थोरै छ, अरू साथीहरूले प्रति व्यक्ति २ लाख ५० हजारका दरले रकम बुझाएका छन् ।’ वैदेशिक रोजगारीमा पठाउने नाममा पछिल्लो समय ठगीका घटना बढ्दै गएका छन् । सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी केन्द्र ९सामी० मा लगभग दैनिकजसो नै ठगी भएका घटना आउने गरेका छन् ।
तुलसीपुर शाखाका परामर्शकर्ता प्रिति घर्तीमगरका अनुसार बितेको आर्थिक वर्षमा वैदेशिक रोजगारीको नाममा ठगिएका छन् । ठगिनेमा ३ महिला र २६ पुरूष रहेका छन् । ठगिने २९ जनामध्ये दुईजना रोल्पाका रहेका छन् भने बाँकी तुलसीपुर, बबई, शान्तिनगर र दंगीशरणका रहेका छन् । निमप्रसाद धितालले मात्रै १२ जना युवालाई ठगेको देखिएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरू विभिन्न व्यक्तिबाट ठगिएर सामीको कार्यालयम आउनेको संख्या पछिल्लो समय बढ्दै गएको तुलसीपुर शाखाका परामर्शकर्ता प्रीतिले बताईन् । ‘विदेश पठाउने बहानामा ठगीका घटना बढ्दो छ’ उनले भनिन्– ‘हामी कहाँ परामर्श लिन नआउनेहरू नै विभिन्न ठगीमा पर्ने गरेका छन् ।’ धेरैजसो युवा ठगिएपछि मात्रै सामीको कार्यालयसम्म आउने गरेको उनले बताइन् ।
‘ठगीमा परेका युवाको समस्या समाधानको कोसिस गछौँ, तर हाम्रो पहुँचभन्दा धेरै टाढाको भएकाले ठगीका घटनामा पीडितले न्याय पाउन निकै समस्या हुन्छ ।’ उनले विदेश जानुभन्दा अघि परामर्श लिन आउँदा ठगीलगायतका घटनाबाट जोगिन सक्ने बताइन् । ‘हामीकहाँ परामर्श लिन आउनेहरूलाई धेरै कुरामा सम्झाई बुझाई गछौँ’ उनले भनिन्– ‘तर पनि कतिपय युवा सिधै एजेन्टकहाँ पुग्दा ठगीमा पर्ने गरेका छन् ।’