
दाङ, १३ साउन । लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गर्ने तयारी भएको छ । प्रदेशका १२ वटै जिल्ला साक्षर घोषणा भएपछि प्रदेशलाई नै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा लागेको प्रदेश सरकारले जनाएको छ ।
२०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । तीमध्ये लुम्बिनी प्रदेशले सरकारले जारी गरेको मापदण्ड पूरा गरेपछि प्रदेश पूर्ण साक्षरता घोषणाको तयारी गरिएको हो ।
नेपाल सरकार, शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले अहिलेसम्म मन्त्रालयमा प्राप्त रेकर्ड अनुसार ६४ जिल्ला साक्षर घोषणा भएको बताउनुभयो । तर अझै १३ जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् ।
शिक्षा मन्त्रालयका अनौपचारिक शिक्षा शाखाका अधिकृत वैकुण्ठ आचार्यका अनुसार लुम्बिनी प्रदेशका जिल्लाहरु साक्षर घोषणा भएकाले अब प्रदेशलाई नै साक्षर घोषणा गर्न सकिने बताउनुभयो ।
यसअघि साक्षरता प्रदेशको रूपमा बागमती, गण्डकी र कोशी घोषित भइसकेका छन् । मधेस प्रदेशका कुनै पनि जिल्ला साक्षर भएका छैनन् भने कर्णाली प्रदेशका पाँच जिल्ला पनि साक्षर घोषणा हुन बाँकी छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु गत असारको दोस्रो हप्ता साक्षरता घोषणा भएपछि प्रदेशलाई साक्षर घोषणा गर्ने तयारीमा रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सीके)ले जानकारी दिनुभयो ।
प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज कुमार गैरेले लुम्बिनी प्रदेशका सबै (१०९) स्थानीय तह नै साक्षरता घोषणा भए पनि केही पुराना ठाउँमा एक पटक मन्त्रालयले साक्षरताको नमुना परीक्षण गरेर छिटै प्रदेशलाई साक्षरता घोषणा गर्ने जानकारी दिनुभयो ।