सल्यान, १० साउन । सल्यानको कपुरकोट गाउँपालिकाले पहिलो पटक वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ ।
गाउँपालिकाभित्र रहेका अशक्त, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई मध्यनजर गर िवडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको थालनी गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर ५ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको हो । अब क्रमश अन्य वडामा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिने उहाँले बताउनुभयो ।
बैंकमा आउ-जाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वापतको रकम पाउन थालेपछि लाभग्राही उत्साहित बनेका छन् । ग्रामीण भेगबाट बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो । बैंकमा घण्टौंसम्म लाइन बसेर बृद्घभत्ता बुझ्दै आएका कपुरकोट गाउँपालिका-५ सिस्नेरीका ७१ वर्षीय लोकबहादुर रोका यस पटकको चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुहुन्छ ।
गाउँपालिकामा यसअघि कपुरकोट वजार पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि सबै लाभग्राही खुशी भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरणको काम वडा नं. ५ बाट भएको र यसै महिनाभित्र गाउँपालिका भित्रका छ वटै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताउनुभयो ।
नागरिकको सहजताको लागि तीन वटा बैंकसँग सम्झौता गरेर भत्ता वितरण गर्न थालिएको हो । जसमा कपुरकोट गाउँपालिका-१ र २ मा ज्योती विकास बैंक, वडा नं. ३, ४ र ५ मा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र वडा नं. ६ मा कुमारी बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छन् ।
सामाजिक सुरक्षा भत्ता वडामै पाउँदा धेरैलाई राहत मिलेको र बैंकमा आएर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । गाउँपालिकामा तीन हजार तीन सय १५ लाभग्राही रहेका छन् । ती मध्ये ज्येष्ठ नागरिक आठ सय ९० जना, एकल महिला चार सय ७१ जना, अपांगता भएका व्यक्ति एक सय १७ जना र बालपोषण पाउने बालबालिका एक हजार आठ सय ३७ जना रहेका छन् ।