
तुलसीपुर, २७ असार । दाङको तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । उपमहानगरपालिकाका १९ वटै वडाका १२ हजार सात सय १० जना बालबालिकाले खोप लगाएसंगै नगरलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिनासम्मका ३ हजार २ सय ९३ जना बालबालिका र १६ देखि ५९ महिना भित्रका ९ हजार ४१७ जना गरी १२ हजार सात सय १० जना सबै बालालिकाहरूले खोपको मात्रा पुरा लगाएपछि तुलसीपुर उपमहानगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको नगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो ।
दाङ जिल्ला खोप समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले नगरप्रमुख टिकाराम खड्कालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणाको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको हो ।
पालिकामा बैसाख महिनादेखि नै खोज र खोप अभियान सञ्चालन भएसँगै कुनै पनि खोप नलगाएको १ जना र खोपको पूर्ण मात्रा पुरा नगरेका ३२ जनालाई खोप लगाइएको थियो । तुलसीपुरका १६ वटा सरकारी स्वास्थ्य संस्था र २ ओटा निजी अस्पतालबाट नियमीत खोप कार्यक्रम सञ्चालन हुने गरेको छ ।
अस्पतालमा हरेक हप्ता मंगलबार÷बुधबार खोप सञ्चालन हुने गर्दछ भने स्वास्थय चौकी ÷नगर स्वास्थय केन्द्रबाट हरेक महिना १९ गतेदेखि २४ गतेसम्म हरेक वडामा रहेका खोप केन्द्रबाट खोप लगाउने गरिएको छ ।