दाङ, २० असार । लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच गएराती सहमति भएको छ ।
गएराति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर बुधबारदेखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो ।
मंगलबार सदन बहिस्कार गरेर बाहिरिएको एमालेसँग सरकारका तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति गरेका हुन् । असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै मंगलबार बहिस्कार नै गरेको थियो ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा पुनः आजका लागि बोलाइएको छ । प्रदेश सभा सचिव दुर्ललकुमार पुनमगरले लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको १७ औं बैठक आज दिउसो १ बजेका लागि बोलाइएको जानकारी दिनुभयो ।