२०८१ माघ ९ गते बुधवार

कोइलाबास भन्सार नाकामा राजश्व लक्ष्यभन्दा बढी संकलन

दाङ, ६ असार । दाङको कोइलाबास भन्सार नाकाले चालुवर्षमा लक्ष्यभन्दा चार गुणा बढी राजश्व संकलन गरेको छ । नाकाले चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा लक्ष्यभन्दा चार गुणा बढी राजश्व संकलन गरेको हो ।

कोइलाबास भन्सारले चालुवर्षमा २१ लाख ३९ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ११ महिनाको अवधिमा करिब ८४ लाख राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार चालुवर्षको साउनमा ३ लाख ७९ हजार ३ सय ८७, भदौमा ५ लाख ९० हजार १९१, असोजमा ३ लाख ७० हजार ७०६ राजश्व संकलन भएको छ ।

यस्तै कात्तिक महिनामा छ लाख ३२ हजार २५४, मंसिरमा ४ लाख ७३ हजार ८५९, पुसमा १५ लाख २९ हजार ३३८, माघमा ६ लाख ६७ हजार १६१ राजश्व संकलन भएको छ । यस्तै फागुनमा ६ लाख ९६ हजार १३०, चैतमा ५ लाख ६३ हजार ७१८, बैशाखमा ९ लाख १७ हजार ७७८ र जेठ महिनामा १५ लाख २६ हजार २५२ राजश्व संकलन भएको छ ।

कोइलाबासलाई जोड्ने सडक कालोपत्रे भएसंगै चहलपहल बढेपछि राजश्व संकलन लक्ष्यभन्दा बढी भएको भन्सार प्रमुख दिपक शर्माले बताउनुभयो ।

कोइलाबास नाका भएर नेपालतर्फ आउने सवारी साधनबाट प्रमुख राजश्व संकलन हुने गरेको छ । सडकको सहजतासंगै भारतीय नागरिक प्युठानको स्वर्गद्धारी दर्शनका लागि दैनिकजसो नेपाल भित्रने क्रम बढ्दै गएकोले भन्सारमा राजश्व पनि लक्ष्यअनुरुपको संकलन भइरहेको प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस