२०८१ चैत्र ६ गते बुधवार

वैदेशिक रोजगारीको नाममा ठगिए २१ जना युवा (भिडियो सहित)

दाङ, २५ जेठ । गंगा बहादुर डाँगीले तीन महिनाअघि विदेश जाने सोच गरे । वैदेशिक रोजगारीको लागि उनको तुलसीपुर-७ का अंकित अधिकारीसंग भेट भयो । अंकितले क्यानडा पठाउछु भनेपछि उनले पनि विश्वास गरे ।

‘आठ घण्टा काम गरेवाफत महिनामा साढे तीन लाख कमाउन सकिन्छ भनेपछि मैले पनि विश्वास गरेँ ।’ उनले भने-‘मलाई उसले क्यानडामा मेरो मान्छे छ, कम्पनिले पठाउँछ, कुल लागत २५ लाख लाग्छ भनेको थियो ।’

अंकितलाई उनले पासपोर्ट बुझाए । अनि मोवाईल बैंकिङबाटै शुरुमा एक लाख र ३५ हजार पनि अंकितलाई दिए ।

पैसा बुझाएपछि उनी बायोमेट्रिकको लागि भारतको नयाँदिल्ली गए । नयाँदिल्लीमा समेत भारतीय पैसा नगद १२ हजार अंकितालाई बुझाए ।

दिल्लीबाट फर्किएको तीन दिनमै भिषा आएको खबर गंगालाई आयो । त्यसपछि उनले ठुलो रकम दिन थाले । भिषा आएको खबरपछि उनले अंकितलाई पाँच लाख दिए । फेरि उनले ७९ हजार दिए ।

त्यसपछि उनले फेरि चौथोपटकमा आठ लाख हाले । अन्तिम पटक उनले ९ लाख ६० हजार रकम दिए । उनले पटक पटक गरेर नगद २४ लाख ८० हजार अंकितलाई बुझाएका छन् ।

‘मैले बिचबिचमा अहिले दिँदैनौँ, एकैपटक जाने बेलामा दिउँला भन्दा त नजाने भए अरु छन् भन्ने धम्की दिन्थ्यो ।’ उनले भने-‘अरुले पनि दिएपछि मैले पनि विश्वास गरेर दिएको हुँ ।’

ठुलो रकम बुझाएपछि उनी क्यानडा जाने ढुक्क थिए । उनलाई जेठ १६ गते विदेश उड्नका लागि काठ्माण्डौ गए । तर सोहि दिन विमान उड्न पाएनन् ।

नक्कली भिषा र नक्कली टिकट भएको थाहा पाएपछि उनले अंकितलाई खोजी गरे । तर अंकित फरार भइसकेको उनलाई जानकारी आयो । तुलसीपुर-२ निवासी डाँगीको विदेश जाने नाममा ठगिए ।

यस्तै तुलसीपुर-७ का बिनोद केसी पनि वैदेशिक रोजगारका नाममा ठगिएका छन् । ‘मैले पटकपटक गरेर अंकित अधिकार र उनको परिवारलाई २७ लाख बुझाएको छु ।’

बिनोदको आमाले भनिन्-‘विदेश जाने भनेर घरबाट हिडेको छोरा समेत वेपत्ता छ, मेरो पैसा र छोरा दुवै गायब भएको छ, म कहाँ जाउँ न्याय खोज्न ।’

अंकितको आमा संग भेटभएपछि छोराले विदेश पठाउने प्रलोभन देखाएपछि आफुले पनि छोरालाई क्यानडा पठाउनका लागि २७ लाख बुझाएको उनको भनाई छ ।

‘मलाई अंकितकै आमा घरमै आएर छोरालाई विदेश पठाउनुस् भनेकी हुन्, उनले मलाई गुम्राहमा पारेर रकम असुलेको हुन् ।’ उनले भनिन्-‘छिमेकी र नातेदार पनि भएका कारणले मैले विश्वास गरेको हुँ ।’

तुलसीपुर-१५ का गगन कार्कीको पनि एक महिना अघि अंकित अधिकारीसंग भेट भयो । उनलाई अंकित अधिकारले क्यानडा पठाउने प्रलोभन देखाएर शुरुमा दुई लाख मागे । उनले पनि विश्वास मानेर दुई लाख बुझाए ।

रकम बुझाएको केहि समयपछि भिषा आयो । भिषा पनि आएपछि फेरि रकम दिए । उनले पटक पटक गरेर अंकितलाई १७ लाख बुझाए । क्यानडा जानका लागि जेठ १६ गतेको मिति तय थियो ।

तर अन्तिम समयमा आएर उनी पनि ठगिएको थाहा पाए । ठगिएको थाहा पाएपछि वैदेशिक रोजगार विभाग र प्रहरीमा अंकित विरुद्ध उजुरी दिए । तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन् ।

तुलसीपुर-१० का दिपक भट्टराईले पनि अंकितलाई क्यानडा जानका लागि पटक पटक गरेर २५ लाख बढी बुझाएका छन् ।

भट्टराईले पनि नक्कली भिषा र नक्कली टिकट भएको काठ्माण्डौ पुगेपछि मात्रै थाहा पाएका हुन् । ठगिएको महशुस भएपछि धेरै पटक अंकितलाई सम्पर्क गर्न खोजे तर अहिले सम्म भेट्न सकेका छैनन् ।

‘अंकित अहिले सम्पर्कबाहिर छन्, उनलाई फरार बनाउनुमा परिवारको पनि मिलेमतो छ ।’ उनले भने-‘पैसा बुझाएको प्रमाण हुँदा पनि अंकितको परिवार पैसा फिर्ता गर्न तयार छैन् ।’

तुलसीपुर-७ का अंकित २१ जना युवाबाट १ करोड ६३ लाख बढी लिएर फरार छन् । उनले विभिन्न व्यक्तिबाट १ करोड ६३ लाख ७० हजार रकम लिएको पिडितको दावि छ । युवालाई विदेश पठाउने बहानामा पटक-पटक रकम असुलेर अंकित फरार भएको पिडितले बताएका छन् । भिडियो रिपोर्ट :

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस