दाङ- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौरीकी सुत्केरी मधु बुढाथोकी केसीको मृत्युपछि आफन्तजनले प्रतिष्ठानमा गरेको आन्दोलनका कारण प्रतिष्ठान तनाबग्रस्त बनेको हो ।
मृतक मधुका आफन्तले प्रतिष्ठान परिसरमा शुक्रबार बिहानैदेखि आन्दोलन गरिरहेका छन् । पीडितले घटनाको तथ्य छानविन तथा क्षतिपूर्तिको माग राखेका छन् । मृतकको क्षतिपूर्ति वापत ५० लाख पाउनुपर्ने, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने तथा यस प्रकारका कमी कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने, मृतकको शरीरको सबै अंग परिक्षण हुनुपर्ने माग आफन्तले राखेका छन् ।
मृतकका श्रीमान शेरबहादुर केसीले सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको आरोप लगाउनुभएको छ ।
उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् ।
सुत्केरी हुनुअघि सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो । पछि प्रतिष्ठानको लापरवाहीले सुत्केरीको मृत्यु भएको सुत्केरीकी आमा पूणर्ा बुढाथोकीले बताउनुभयो । शिशुको अवस्था भने सामान्य छ । प्रतिष्ठानले भने सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पीडित समक्ष जवाफ दिएको छ ।