२०८१ माघ ९ गते बुधवार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त


दाङ, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ ।

चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरी मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ ।

चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित सांसद हुनुहुन्छ । यसअघि पनि निर्वाचित उहाँ अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति र पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री भएर काम गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस