दाङ, १६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
उहाँले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउनेलगायतका सबै काम सकिएको जानकारी दिनुभयो ।
एसईईमा सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा चार लाख ८४ हजार दुई सय २७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।
परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ विद्यार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ झन्डै १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।