२०८१ माघ ८ गते मङ्गलवार

कपुरकोटमा वडाबाटै योजना सम्झौता

सल्यान, ४ फागुन । सल्यानको कपुरकोट गाउँपालिकाले आर्थिक व्ययभार कम गर्न र उपभोक्ता समितिको सहजताका लागि वडाबाटै योजना संझौता गर्ने गरेको छ । उपभोक्ता समितिलाई आर्थिक दायित्वबाट बचाउन वडाबाटै योजना संझौताको अवधारण गाउँपालिकाले अघि सारेको हो ।

वडाबाटै योजना संझौता हुने भएपछि गाउँपालिकासम्म आउने आर्थिक खर्च, समय सबैको बचत हुने गरेको प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो । ‘उपभोक्ता समिति भुक्तानी लिन सम्म गाउँपालिका आउनुपर्दैन ।’ उहाँले भन्नुभयोे-‘आवश्यक कागजात वडामै दिए हुन्छ, वडाको कर्मचारीले गाउँपालिकासम्म ल्याउनुहुन्छ,अनि हामीले खातामै रकम राखिदिन्छौँ ।’

उहाँका अनुसार गाउँपालिकामा फागुनको १५ गतेभन्दा पछि कुनै पनि योजना संझौता हुँदैन् । यस्तै असारको १५ गतेभित्र भुक्तानी लिइसक्नुपर्नेछ भने ठेक्का सम्बन्धी योजना जेठ ३० गतेभित्र काम भइसकेको हुनुपर्ने गाउँपालिकाको नीति छ ।

असार १ गतेपछि अनुगमनमा नजाने प्रमुख प्रशासकिय अधिकृत वलीले बताउनुभयो । ‘ उपभोक्ता समितिको हकमा जेठको पहिलो सातासम्म सम्पन्न भइसक्नुपर्छ ।’ उहाँले भन्नुभयो-‘फागुन १५ गतेभित्र योजना सम्झौता भएपछि तीन महिनाभित्र काम गर्नुपर्छ, यो नीति कार्यन्वयन हुनेमा पूणर् विश्वस्त छौँ ।’

वडामै योजना सम्झौता हुने भए पछि आफुहरुलाई सहज भएको भन्दै नागरिक खुसी भएका छन् । सेवा प्रबाह शिबिर कार्यक्रम सञ्चालन भए संगै योजना सम्झौता गर्न उपभोक्ता समिति गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका केन्द्र पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न सेवा प्रबाह शिबिर कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस