
दाङ, २५ पुस ।
लुम्बिनी प्रदेशमा ६ हजार ३ सय बढी घरेलु हिंसाका घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशमा दुई वर्ष पाँच महिनाको अवधिमा ६ हजार ३ सय ३७ घरेलु हिंसाका घटना भएका छन् ।
प्रदेशमा आर्थिक वर्ष २०७७/२०७८ देखि चालुवर्षको मंसिर अन्तिम सम्ममा दर्ता भएका ८ हजार ८४ महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्रदेशमा आर्थिक वर्ष २०७७/२०७८ मा २ हजार ३ सय १८, बितेको आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार ८६० र चालुवर्षको साउनदेखि मंसिर मासन्तसम्म १ हजार १ सय ५९ वटा घरेलु हिसांका घटना भएका छन् ।
उहाँले प्रदेशमा घरेलु हिंसा पछि जवरजस्ती करणीका घटना बढी भएको बताउनुभयो । प्रदेशमा दुई वर्ष पाँच महिनाको अवधिमा ९ सय ६१ जवरजस्ती करणीका घटना भएका छन् ।
प्रदेशमा चालुवर्षमा साउनदेखि मंसिर अन्तिमसम्ममा १४० वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष २०७७/२०७८ मा ४३७ र बितेको आर्थिक वर्ष २०७८ /२०७९ मा ३८४ वटा जवरजस्ती करणीका घटना भएका छन् ।
यस्तै प्रदेशमा सोहि अवधिमा ३ सय १ जवरजस्ती करणी उद्योगका घटना दर्ता भएका छन् । प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ३९, आर्थिक वर्ष २०७७/२०७८ मा १३२ र आर्थिक वर्ष २०७८/२०७९ मा १३० जवरजस्ती करणी उद्योगका घटना भएका छन् ।
प्रदेशमा सोहि अवधिमा २९३ बहुविवाहका घटना भएका छन् । प्रदेशमा चालुवर्षमा साउनदेखि मंसिर अन्तिमसम्ममा ५ वटा बहुविवाका मुद्धा दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष २०७७/२०७८ मा १३२ र बितेको आर्थिक वर्ष २०७८ /२०७९ मा १५६ वटा बहुविवाहका घटना भएका छन् ।
यस्तै बाल यौन दुराचारका ८७ , बालविवाहका २१, अप्राकृतिक मैथुनका १९, बोक्सी आरोपका १६, अवैध गर्भपतनका ९ घटना भएको देखिएको छ ।