दाङ, २१ पुस ।
सुन काण्डमा मुछिएका निलम्बित डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका केसीमाथि छानबिन गर्न गठित समिति बुधबारदेखि बुटवल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएको छ ।
अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको नेतृत्वमा समिति गठन भएको थियो । समितिले एक महिनाभित्र अनुसन्धान प्रतिवेदन बुझाउने जिम्मा पाएको छ । समितिको प्रतिवेदनका आधारमा केसीमाथि थप कारबाही अगाडि बढाउने रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायब गरिदिएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पुस १४ मा निलम्बन गरेको थियो ।