
प्युठान, १२ कार्तिक । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन प्रचार प्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचार प्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।
‘तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचार प्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधि मार्फत् निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहोला’ आयोगले भनेको छ ।