तुलसीपुर, १ कार्तिक ।
तुलसीपुर–१३ दमारगाउँमा हत्या गरिएका दुई बालबालिकाका आफन्तले तीन दिनपछि शब बुझेका छन् । प्रहरीले दोषिलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपछि शब बुझेको बालिकाका अंकल टेकसिंह महताराले जानकारी दिनुभयो ।
दोषिलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नुपर्ने माग राखेर शब नबुझेका उनीहरुले आज शबको पोष्टमार्टमपछि प्रहरीबाट दोषिलाई पक्राउ गरी सार्वजनिक गर्ने आश्वासन पाएपछि शब बुझेको उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँ स्थित बनमा दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर–१३ मा मामाघरमा बसेर कक्षा ९ मा पढ्ने १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी १४ वर्षिय रोशनी महतारालाई हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो ।
गत असोज २७ गतेदेखि हराएका उनीहरुलाई ३० गते गाडिएको अवस्थामा फेला परिएको थियो । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि अहिले बबईको शितलपुरमा दाहसंस्कार गरिने भएको छ ।
हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ । दुईजना बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवालाई पक्राउ गरेपनि आधिकारिकरुपमा सार्वजनिक गर्न भने बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमका अनुसार अहिलेसम्म २० जनालाई सोधपुछ गरिएको छ । घटनाका संलग्न दोषिलाई छिट्टै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो ।
घटनामा संलग्न भएको हुन सक्ने आशंकामा बालक र बालिका दुवै पक्षका आफन्त, साथीभाईलाई नियन्त्रणमा ल्याएर सोधपुछ गरिएको छ ।