तुलसीपुर, १ कार्तिक ।
दमारगाउँमा दुई बालबालिकाको हत्याकाण्डमा संलग्न अपराधिको नजिक पुगेको प्रहरी स्रोतले जनाएको छ । दुईजना बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवालाई पक्राउ गरेपनि आधिकारिकरुपमा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमका अनुसार अहिलेसम्म २० जनालाई सोधपुछ गरिएको छ । घटनाका संलग्न दोषिलाई छिट्टै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो ।
घटनामा संलग्न भएको हुन सक्ने आशंकामा बालक र बालिका दुवै पक्षका आफन्त, साथीभाईलाई नियन्त्रणमा ल्याएर सोधपुछ गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँ स्थित एक सामुदायिक बनमा दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर–१३ मा मामाघरमा बसेर कक्षा ९ मा पढ्ने १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी १४ वर्षिय रोशनी महतारालाई हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो ।
उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा ढुंगा प्रहार भएको जस्तो देखिएको छ । तर, यो विषयमा पोष्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ । पोष्टमार्टम फरेन्सिक विज्ञबाट राप्ती प्रादेशिक अस्पालमा गरिएको छ ।
तुलसीपुरमा फरेन्सिक विज्ञ नुहँदा घोराहीबाट ल्याएर पोष्टमार्टम गरिएको जिल्ला प्रहरी प्रवक्ता गौतमले बताउनुभयो ।
उहाँका अनुसार बिवादित तथा कानुनी प्रक्रिया अघि बढ्ने केशहरुका सन्दर्भमा विज्ञहरुबाटै पोष्टमार्टम गर्दा राम्रो हुने भन्दै फरेन्सिक विज्ञ मार्फत पोष्टमार्टम गरिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताउनुभयो ।
हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ ।