२०८१ चैत्र ९ गते शनिवार

महरा सुरक्षित क्षेत्रको खोजीमा

दाङ, ३१ भदौ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुरक्षित क्षेत्रको खोजिमा रहेको देखिएको छ । महराको नाम अहिलेसम्म तीन स्थानबाट सिफारिस भएको छ ।

यसअघि २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा अहिले क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलसंग प्रतिष्पर्धा हुने भएपछि सुरक्षित स्थानको खोजिएमा रहेको देखिएको छ ।

माओवादी केन्द्रले दाङ १ बाट कृष्णबहादुर महरालाई प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको छ । यसअघि महराको नाम दाङ २ बाट पनि सिफारिस भएको थियो । उहाँलाई रोल्पाबाट पनि सिफारिस गरिएको छ ।

पार्टी उपाध्यक्षसमेत रहेका महरा सुरक्षित स्थानको खोजीमा रहेको देखिन्छ । दाङ २ मा एमालेबाट महासचिव पोख्रेलको नाम सर्वसम्मत सिफारिस भएपछि महरा र पोख्रेलको प्रतिस्पर्धा हुने देखिएको थियो । तर फेरि महराको नाम क्षेत्र नं. १ बाट पनि सिफारिस भएको छ ।

गत स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई ५ हजार ३ सय ६० मतले हराएको थियो । महाराले आफ्नो जित सुनिश्चित गर्न सुरक्षित क्षेत्र खोजिरहेको माओवादीकै स्थानीय नेता बताउँछन् ।

क्षेत्र नं. १ मा गठबन्धनबाट एकीकृत समाजवादीले पाउने प्रारम्भिक सहमति बाहिर आएको छ । महराका लागि समाजवादीका मेटमणि चौधरीले त्याग गर्नुपर्ने देखिन्छ । तर स्थिति त्यस्तो पनि देखिदैन् । क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा महरासहित नारायणी शर्मा, लुमबहादुर कार्की र होमप्रसाद शर्मालाई सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस