दाङ, १५ साउन
अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ्दै गएको छ । दुई सातायता अस्पतालमा अन्य बिरामीको तुलनामा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।
रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ । केही साता यता पहिलेको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि भएको राप्ती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालमा पछिल्लो समय दैनिक आउने बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी भएको चिकित्सकहरुको भनाई छ । अस्पतालमा दैनिक २ सय बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय भाइरलबाट सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित रहेका छन् । कोरोना भाईरसको महामारी संगै भाईरल ज्वरोको प्रकोप पनि फैलिदै गएको छ ।
राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि पुग्ने बिरामी मध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको सङ्क्रमण देखा परेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बिनोद सिंहले जानकारी दिनुभयो ।
डाक्टरले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । पानी उमालेर मात्र खान, सरसफाईमा ध्यान दिन र बासी सडेगलेका खानेकुरा नखान डाक्टरको सुझाव छ ।