२०८३ कार्तिक १४ गते शनिवार

सल्यानमा एकैदिन दुई सवारी  दुर्घटना :  चार जनाको मृत्यु


सल्यान, १४ कात्तिक । सल्यानमा शुक्रबार साँझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो दुर्घटना हुँदा एक जना गरी चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्ध कुमाखमा भएको दुर्घटनामा परी सिद्धकुमाख गाउँपालिका–२ का ४३ वर्षीय साउने रोका, ४३ वर्षीया कृष्णी बस्नेत र ४५ वर्षीया सीता विकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

शारदा नगरपालिका–१ श्रीनगरबाट सिद्ध कुमाख गाउँपालिका–२ टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप शुक्रबार साँझ साढे ६ बजेतिर रातामाटास्थित भित्री सडकबाट झन्डै १ सय ५० मिटर तल खोलामा खसेको हो ।

यस्तै, शुक्रबार राति बनगाड कुपिण्डे नगरपालिका–११ गरामा भएको बोलेरो दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मलारानीका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको छ । उहाँको सुर्खेतस्थित मेहेलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खलंगा–बालुवा संग्राही सडकखण्डमा चौरबाट बालुवा संग्राहीतर्फ जाँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याब बोलेरो राति करिब पौने ९ बजे सडकबाट झन्डै १ सय मिटर तल खसेको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार सिद्ध कुमाखमा घाइते भएका चार जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । दुई जनाको नेपालगन्जमा उपचार भइरहेको छ भने १ जनाको सल्यानमै उपचार भैरहेको छ ।

बनगाड कुपिण्डेमा घाइते भएकाहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाले बताउनुभयो । दुवै दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी पातलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस