दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको छ। अब बिरामीले आफू रहेकै स्थानबाट प्रविधिको माध्यमबाट विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परामर्श लिन सक्नेछन्।
सेवा सुरु भएको पहिलो दिन शिवराज अस्पतालको अनुरोधमा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागका चिकित्सक डा. सञ्जय पौडेलले टेलिमेडिसिनमार्फत पहिलो स्वास्थ्य परामर्श दिनुभएको थियो।

प्रतिष्ठानले यो सेवालाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्ने जनाएको छ। त्यसका लागि आफ्ना स्याटेलाइट अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य गरिनेछ। साथै विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सकहरूको परामर्श तालिका बनाएर दैनिक रूपमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालका अनुसार आगामी दिनमा लुम्बिनी प्रदेशका दुर्गम जिल्लाहरूमा समेत यो सेवा विस्तार गरिनेछ।
अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले टेलिमेडिसिन सेवाले भौगोलिक दूरी र समयको समस्यालाई कम गर्ने बताउनुभयो। उहाँका अनुसार अब बिरामीले अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै आफू रहेकै स्थानबाट प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्।
त्यस्तै, अस्पतालका सहनिर्देशक डा. निरोज खनालले यस सेवाबाट देश तथा विदेशमा रहेका बिरामीले पनि सहज र सुलभ रूपमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको बताउनुभयो।
सेवा सञ्चालनका लागि अस्पतालका निर्देशक डा. सुरेश रसाइली, सहनिर्देशक डा. निरोज खनाल, कन्सल्टेन्ट फिजिसियन डा. सञ्जय पौडेल, टेलिमेडिसिन फोकल पर्सन डा. द्रोणाचार्य घिमिरेसहित अस्पताल प्रशासन र सूचना प्रविधि विभागले समन्वय गरेका थिए।
त्यसैगरी शिवराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक मिश्रा तथा प्रशासकीय अधिकृत एवं मेडिकल अफिसर डा. दुर्गेशलाल चौधरीले पनि सेवा सञ्चालनमा सहयोग गर्नुभएको थियो।
डिजिटल प्रविधिको प्रयोग गरी विशेषज्ञ तथा उपविशेषज्ञ चिकित्सकको परामर्शलाई सहज, सुलभ र प्रभावकारी बनाउनु यस सेवाको मुख्य उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ। यसले विशेषगरी दुर्गम क्षेत्रमा रहेका र अस्पतालसम्म पुग्न कठिनाइ हुने बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ।


