२०८३ असार २० गते शनिवार

कांग्रेस उमेदवार दीपक गिरीको चुनावी दौडधुप


दाङ, २४ माघ । नेपाली कांग्रेसबाट दाङ निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य उमेदवार तथा पूर्व सिँचाई मन्त्री दीपक गिरीले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र भेटघाटलाई तीव्र बनाउनुभएको छ ।

चुनावी अभियानको क्रममा विभिन्न सार्वजनिक स्थानमा आयोजित कार्यक्रमहरूमा बोल्दै गिरीले दाङ–३ को समग्र विकास र जनजीवनसँग जोडिएका समस्या समाधानका लागि आफूलाई जिताउन अपिल गर्नुभएको छ ।

पूर्व मन्त्रीसमेत रहेका गिरीले विगतमा आफूले सिँचाइ, कृषि र पूर्वाधार विकासमा पुर्‍याएको योगदानको स्मरण गराउँदै आगामी कार्यकालमा बाँकी रहेका काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले विशेषगरी दाङमा लामो समयदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । भेटघाटका क्रममा गिरीले भूमिहीन र सुकुम्बासी नागरिकको अधिकार सुनिश्चित गर्न संसदमा पुगेर विशेष आयोग गठन गर्ने उद्घोष गर्नुभएको हो ।

‘भूमिहीनहरूको पीडा अब उपेक्षा गर्न मिल्दैन । संसदमा पुगेपछि सुकुम्बासीको पहिचान र स्थायी व्यवस्थापनका लागि शक्तिशाली आयोग गठन गर्न पहल गर्नेछु ।’ उहाँले भन्नुभयो–‘आवास, रोजगारी र भूमि व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाउने योजना छ ।’

कृषि उत्पादनमा वृद्धि, सिँचाइको आधुनिक विस्तार र स्वास्थ्य–शिक्षामा सर्वसाधारणको पहुँच पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेका गिरीले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्नुभयो । स्थानीय नागरिकले विकास र रोजगारीका बारेमा राखेका जिज्ञासाको उत्तर दिँदै उहाँले जनमुखी राजनीति गर्ने आश्वासन दिनुभयो ।
यस्तै कांग्रेस नेता गेहेन्द्र गिरीले आफुहरूले अरू केही नमागेकाे तर मत मात्रै मागेकाे बताउँदै जनताले मत दिएमा आफुहरूले पनि जनताका समस्या समाधान गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस