२०८३ असार १६ गते मङ्गलवार

गोरखा आवासीय विद्यालयका विद्यार्थीद्वारा रोपाइँसँगै व्यावहारिक सिकाइ

दाङ, १६ असार । दाङको तुलसीपुरस्थित गोरखा आवासीय विद्यालयका कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूले असारको रोपाइँ पर्वलाई व्यावहारिक शिक्षासँग जोड्दै धान रोपाइँ कार्यक्रम सम्पन्न गरेका छन्।

विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरू खेतमा पुगेर शिक्षकहरूको निर्देशनमा धान रोपे। रोपाइँपछि सबै विद्यार्थीले परम्परागत नेपाली परिकार दही–चिउराको स्वाद लिँदै असारको सांस्कृतिक महत्वसमेत अनुभूति गरेका थिए।

विद्यालयका प्रिन्सिपल रबिन खड्काले विद्यालयमा पाठ्यपुस्तकमा सीमित शिक्षाभन्दा बाहिर निस्केर व्यावहारिक ज्ञान दिन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले कृषि नेपालको अर्थतन्त्र र संस्कृतिसँग प्रत्यक्ष जोडिएको विषय भएकाले बालबालिकालाई सानैदेखि श्रम, कृषि र प्रकृतिप्रति सम्मान गर्ने संस्कार विकास गराउने उद्देश्यले रोपाइँ कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

“आजको आवश्यकता व्यावहारिक ज्ञान हो। विद्यार्थीले पुस्तकमा मात्र होइन, खेतमै पुगेर सिक्दा सिकाइ अझ प्रभावकारी र दीर्घकालीन हुन्छ,” प्रिन्सिपल खड्काले बताए।

विद्यालयका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा श्रमको सम्मान, सहकार्यको भावना, कृषि प्रतिको रुचि तथा स्थानीय संस्कृति संरक्षणप्रति सकारात्मक सोचको विकास हुने विश्वास गरिएको छ। नेपालका विभिन्न विद्यालयहरूले पछिल्ला वर्षहरूमा पनि राष्ट्रिय धान दिवस तथा असार महिनालाई व्यावहारिक शिक्षासँग जोडेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस