दाङ ७ असार । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा स्कुलमा आज साइबर अपराध तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एमकान्त खरेलको सभापतित्व तथा ईप्रका तुल्सीपुरका प्रहरी निरीक्षक असिम हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई पछिल्लो समय बढ्दै गएको साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय तथा ट्राफिक नियमहरूको महत्वबारे जानकारी गराइएको थियो। सहभागीहरूलाई डिजिटल प्रविधिको सही प्रयोग गर्दै जिम्मेवार नागरिक बन्न प्रेरित गरिएको थियो।
प्रमुख अतिथि प्रहरी निरीक्षक असिम हमालले प्रविधिको दुरुपयोगले समाजमा विभिन्न प्रकारका अपराध बढिरहेको उल्लेख गर्दै सचेतना नै यसको प्रमुख समाधान भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजका विद्यार्थी भोलिका जिम्मेवार नागरिक हुन्। सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत सूचना सुरक्षित राख्नुपर्छ, अपरिचित व्यक्तिको प्रलोभनमा पर्नु हुँदैन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउनुपर्ने बताउनुभएको थियो। ।
त्यस्तै तुलसीपुर ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक वीरवान रावलले ट्राफिक नियमको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै “सडकमा सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। जेब्रा क्रसिङको प्रयोग, ट्राफिक संकेतको सम्मान तथा सवारी साधन चलाउँदा नियमको पूर्ण पालना गर्नुपर्छ” भन्नुभयो।
सभापति एमकान्त खरेलले विद्यार्थीहरूमा कानुनी सचेतना, अनुशासन र सामाजिक जिम्मेवारीको भावना विकास गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। विद्यालयले समयानुकूल तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले साइबर सुरक्षासम्बन्धी जिज्ञासा राखेका थिए भने प्रहरी निरीक्षक हमालले विभिन्न उदाहरण प्रस्तुत गर्दै उनीहरूका प्रश्नहरूको उत्तर दिनुभएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल सुरक्षा तथा सडक सुरक्षाप्रति सकारात्मक चेतना अभिवृद्धि गरेको विद्यालयले जनाएको छ। कार्यक्रमको सहजीकरण बिद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नु भएको थियोे ।




