सल्यान, ४ कात्तिक । सल्यानमा ५० बढी फरार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनामा विभिन्न मुद्दामा फरार रहेका ५४ जना व्यक्तिलाई पक्राउ गरी अदालतमा पेश गरेको हो । तीमध्ये जेनजी आन्दोलनअन्तर्गत फरार रहेका दुई जना कैदी पक्राउ परेका छन् भने अन्य फैसला कार्यान्वयनका क्रममा फरार रहेका ५२ जना रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सल्यानमा प्रहरीले एक सातामा विभिन्न अवैध गतिविधिमा संलग्न व्यक्ति र सामानहरू नियन्त्रणमा लिएको छ ।
प्रहरीले ९ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट लागुऔषध जस्तो देखिने खैरो पदार्थ (ब्राउन सुगर) ९ ग्राम ६५० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका–२ का २८ वर्षीय संगीत परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट डिएसपी डा. हेमबहादुर केसीको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले उनीहरूलाई दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





