२०८३ असार ७ गते आइतवार

दाङ भ्याली यातायातको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

तुलसीपुर, १ असोज । दाङ भ्याली यातायात प्रालिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ ।संस्थापक अध्यक्ष वेत प्रकाश वलीको अध्यक्षता तथा जेष्ठ यातायात व्यवसायी गोपाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि चौधरीले व्यावसायिक एकता आजको आवश्यकता रहेको र त्यो काम दाङ भ्याली यातायात प्रालिले गरेको उल्लेख गर्दै सरकारले तोकेको भाडादर अनुसार यात्रु सेवामा निरन्तरता दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

यस्तै संस्थाका नव निर्वाचित अध्यक्ष महेन्द्र महराले संस्थामा करिब १ हजार सवारी साधन आबद्धता लिएको जानकारी दिनुभयो । उहाँले प्रालिको सांगठनिक प्रतिवेदन र आगामी योजनाबारे पनि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा संस्थाको घोराही, लमही, हापुरे, बिजौरी शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा संस्थाका निवर्तमान उपाध्यक्ष नहोस् कुमार लामिछाने र प्रशासन सहायक सुलभ सिंहलाई सम्मान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ फिल्ड सहायक विष्णुकुमारी ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार निरला अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसैबीच अधिवेशनले आगामी ४ वर्ष कार्यकालका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ । अध्यक्षमा महेन्द्र महरा, वरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर रेउले, महासचिवमा खुम बहादुर वली, सचिवमा चित्र बहादुर नेपाली, कोषाध्यक्षमा राम बहादुर केसी, सहसचिवमा टंकी नेपाली सर्वसम्मत चयन हुनुभएको हो । कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण समेत गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस