२०८३ भाद्र १७ गते बुधवार

चाडपर्व नजिकिदै गर्दा दाङमा दिउँसै लुटपाट र ज्यान मार्ने प्रयास

दाङ, १ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा दिउँसै लुटपाट र ज्यान मार्ने प्रयास भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ की शान्ति चौधरीको घरमा कोही नभएको मौका पारेर लुटपाट गर्ने क्रममा ज्यान मार्ने प्रयास भएको हो ।

सोमबार दिउँसो सवा बाह्र बजे दुई जना व्यक्तिले खुकुरी र फलामको रड लिएर घरको ताला फोरेर लुटपाट गर्न खोजिरहेका थिए । सोही बेला शान्ति चौधरीले देख्नुभयो र लुटपाट गर्न आएका मध्ये एक जनाले उहाँलाई दुई पटक खुकुरी प्रहार गरेका थिए । तर, उहाँ भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

‘घरमा ताला लगाएर बाहिर बस्तुभाउलाई दाना खुवाउँदै थिएँ। ताला फोडेको आवाज सुनेपछि घरभित्र पस्दा उनीहरू दराज फोडिरहेका थिए ।’ चौधरीले भन्नुभयो,-‘चोर भनेर गुहार माग्दा मलाई खुकुरी हान्ने प्रयास गरे र मोटरसाइकलमा भागे ।’

उहाँले ती लुटेराहरूलाई अन्जान व्यक्ति भएको तर फेरि देखे चिन्ने बताउनुभएको छ । घटना भएको खबर पाए लगत्तै वडा नम्बर १६ का वडाध्यक्ष तारा बहादुर डाङ्गी र अस्थायी प्रहरी चौकी सर्राका वरिष्ठ हवल्दार हेमराज अधिकारी घटनास्थल पुग्नुभएको थियो । हवल्दार अधिकारीले ती हतियारसहित आएका व्यक्तिहरू पेशेवर चोर हुनसक्ने बताउनुभएको छ ।

प्रहरीले ती दुई व्यक्तिलाई खोजी गरी कानूनी कारबाही गर्ने जनाएको छ । चाडपर्वको समयमा यस्ता आपराधिक गतिविधि हुन सक्ने भएकाले नागरिकलाई सचेत रहन प्रहरीले आग्रह समेत गरेको छ ।

वडाध्यक्ष डाङ्गीले शंका लागेका व्यक्तिहरू टोल वा घरमा प्रवेश गरेमा तुरुन्त वडा कार्यालय वा प्रहरीलाई खबर गर्न सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस