दाङ, १७ भदौ । दाङको तुलसीपुर–५ निवासी एक परिवारले बाढी प्रभावित परिवारका लागि २२ हजार ५७५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
तुलसीपुर–५ निवासी व्यवसायी सपना भण्डारी बस्नेत, विश्वजित बस्नेत र उहाँहरूका छोरा विशालजित बस्नेतले उक्त रकम सहयोग गर्नुभएको हो ।
विशालविश्व इन्टरप्राइजेजका सञ्चालकसमेत रहनुभएका बस्नेत परिवारले रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नुभएको हो ।
उद्यमी सपना भण्डारी बस्नेतले राष्ट्रमा विपत्ति परेको समयमा सबै मिलेर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले गरिएको सहयोग नै अन्तिम नभएको भन्दै आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि थप सहयोग गर्न सकिने बताउनुभयो ।
प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार


