दाङ, १८ भदौ । तुलसीपुर उपमहानगरपालिका-६ का वडाध्यक्ष दुजमान भण्डारी र वडा सदस्य यमराज केसीलाई ज्यान मार्ने धम्की आएको छ।
वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष भण्डारीले भारतीय नम्बरबाट बारम्बार धम्की आएको खुलासा गर्नुभयो। उहाँले जानकारी दिएअनुसार, तुलसीपुरका इलिजा डाँगी वली र उहाँका श्रीमान जागेश्वर वलीले सडक निर्माणका क्रममा भएको विवादलाई लिएर भारतीय आपराधिक गिरोहलाई प्रयोग गरी ज्यान मार्ने धम्की दिएका छन्।
विवादको सुरुवात तुलसीपुरको गौरवको योजना अन्तर्गत तरकारी बजारदेखि गाइडहर, बनकट्टा, कपडादेवी हुँदै राजापुर जोड्ने सडक निर्माणका क्रममा वली दम्पतीको घरको पर्खाल भत्काइएपछि भएको थियो। साउन २९ गते, ३ सय उपभोक्ताको उपस्थितिमा डोजर लगाएर पर्खाल भत्काइएको थियो।
साउन ३० गतेदेखि भारतीय नम्बरबाट धम्कीपूणर् फोनहरू आउन थालेको भण्डारीले जानकारी दिनुभयो। उहाँले वली दम्पतीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरेर आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउनुभयो।
पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले प्रहरीको लापरवाहीप्रति असन्तोष व्यक्त गर्नुभयो। उहाँले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नआएको र आरोपीत व्यक्तिलाई नियन्त्रणमा लिन प्रयास नगरेको आरोप लगाउनुभयो। प्रहरीको यो व्यवहारले उनीहरू कुनै दबाब वा आर्थिक प्रभावमा रहेको संकेत गरेको उहाँको भनाइ छ।

नगर प्रवक्ता माधव वलीले जनप्रतिनिधिहरूले ज्यानको सुरक्षा माग्दा पनि प्रहरी मौन बसेकोमा आश्चर्य व्यक्त गर्नुभयो। उहाँले प्रहरीलाई दबाब वा प्रभावबाट मुक्त भएर आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुपर्ने बताउनुभयो।
यो विषयमा बुझ्न इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोख्रेललाई सम्पर्क गर्दा उहाँले आफू मिटिङमा रहेको प्रतिक्रिया दिनुभयो। जब वडाध्यक्षलाई ज्यान मार्ने धम्कीको बारेमा सोधियो, उहाँले प्रहरी निरीक्षक प्रकाश थापासँग बुझ्न सुझाव दिनुभयो। प्रहरी निरीक्षक थापालाई सम्पर्क गर्दा, उहाँले यो विषयमा आफूलाई कुनै जानकारी नभएको र साँझ डीएसपी आएपछि छलफल गर्ने बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी राम बहादुर केसीलाई सम्पर्क गर्दा, उहाँले निवेदन आएको भए इलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझ्न सल्लाह दिनुभयो र फोन काट्नुभयो। जनप्रतिनिधिहरूले नै सुरक्षा महसुस गर्न नसकेको अवस्थामा सर्वसाधारण नागरिकको अवस्था कस्तो होला भन्ने स्पष्ट देखिन्छ।


