२०८३ असोज २४ गते शनिवार

सल्यानबाट ९१ करोडका खसीबोका निकासी

सल्यान, २४ साउन । गत वर्ष सल्यानबाट ९१ करोड रुपैयाँ बराबरका खसीबोका निकासी भएका छन् । जिल्लाका १० स्थानीय तहबाट कपुरकोट, सल्लीबजार र कालिमाटी नाका हुँदै ती खसीबोका निकासी भएका हुन् ।

प्रत्येक वर्ष करोडौंका खसीबोका निकासी हुन थालेपछि विगतमा नुन-तेल तथा सामान्य खर्चका लागि घरमा दुई/चार वटा पाल्दै आएका किसानका लागि बाख्रापालन अहिले आय आर्जनको राम्रो माध्यम बनेको छ । आर्थिक अवस्था कमजोर भएकालाई पछिल्लो समय बाख्रापालनबाट जीविकोपार्जनमा सहज भएको छ भने धेरैको जीवनमा सुधार पनि आएको छ ।

विगतमा मजदुरी गर्न भारतका विभिन्न स्थान र खाडी मुलुक जान बाध्य भएका युवा, वयस्क तथा महिलालाई बाख्रापालनले जीविकोपार्जनमा सहज मात्र नभई घरमै रोजगारी पनि मिलेको छ भने विगतमा वैदेशिक रोजगारीमा गएर फर्केका समेत व्यावसायिक बाख्रापालनमा उत्साहित भएर लागेका छन् ।

दर्ता भएका विभिन्न कम्पनीले सल्यानका १० स्थानीय तहबाट ५९ करोड रुपैयाँ बराबरका २९ हजार ८ र दर्ताविहीन स्थानीय व्यापारीमार्फत ३२ करोड रुपैयाँ बराबरका झन्डै २४ हजार खसीबोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्रकुमार केसीले बताउनुभयो ।

जिल्लामा किसानहरूले पालेका खसीबोका ध्रुवतारा खसीबोका सप्लायर्स, बागेश्वरी भेडाबाख्रा सप्लायर्स, गरुड एग्रिकल्चर प्रालि, केही सहकारीबाट निकासी भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट निकासी भएका खसीबोका काठमाडौं, बुटवल, नारायणघाट, धनगढी, नेपालगन्ज, दाङ, भैरहवा, सुर्खेतसम्म लैजाने गरेका छन् । अघिल्लो वर्ष जिल्लाबाट झन्डै ८० करोड बराबरका खसीबोका कम्पनी तथा स्थानीय व्यापारीमार्फत निकासी भएका थिए ।

पशु सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लामा अहिले ५ लाख ६ हजार ६ सय ६६ खसीबोका पालिएका छन् । किसानहरू व्यावसायिक रूपमा बाख्रापालनमा लागेपछि प्रदेश र स्थानीय सरकारले एक पालिका एक पशु कार्यक्रम लागू गरी अनुदानमा बाख्रा वितरण गर्दै आएको र खोर सुधार कार्यक्रम, संकलन केन्द्र, रोगविरुद्ध निःशुल्क खोप कार्यक्रम पनि लागू गरिरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस