दाङ, ८ चैत । बढ्दो सहरीकरणसँगै खानेपानीको माग चुलिदै गएको समयमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मुहान संरक्षण र वैकल्पिक स्रोत व्यवस्थापनमा सक्रियता देखाएको छ ।

३४ औँ विश्व जल दिवसको अवसरमा आइतबार सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित मुख्य मुहान क्षेत्रको सरसफाइ गर्दै संस्थाले खानेपानीको दीर्घकालीन समाधानमा जोड दिएको छ ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारीको नेतृत्वमा उपाध्यक्ष नारायणप्रसाद शर्मा, सचिव भुवन भुषाल, कोषाध्यक्ष भोला थापा लगायतका पदाधिकारी र कर्मचारीहरूको टोलीले कपुरकोट गाउँपालिका–३ धैरेनीमा रहेको मुहान क्षेत्रको स्थलगत अनुगमन तथा सरसफाइ गरेको छ ।
मुहान क्षेत्रमा आयोजित विशेष कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नम्बर ३ का संयोजक बलिराम खत्रीले नागरिकले सहज रूपमा खानेपानी पाउने अधिकार अझै सुनिश्चित हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले मुहान संरक्षणलाई अभियानकै रूपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै संस्थाका सल्लाहकार जनक खरालले उपभोक्ताको बढ्दो माग र घट्दो पानीका स्रोतहरूका कारण संस्थामाथि चुनौती थपिएको बताउनुभयो । ‘बबई लिफ्टिङ आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गरेर उपभोक्ताको घरदैलोमा पानी पुऱ्याउनु अहिलेको नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्छ ।’उहाँले भन्नुभयो–‘तर, दीर्घकालीन समाधानका लागि पातुखोला माथि ड्याम (बाँध) निर्माणको विकल्प छैन ।’
कार्यक्रममा पत्रकार नारायण खड्का, नारायणपुर खानेपानीका अध्यक्ष श्रवण रजौरे, घोराही खानेपानीका कोषाध्यक्ष ध्रुब केसी, इन्जिनियर हडेन्द्र भट्ट लगायतले जलवायु परिवर्तनका कारण प्राकृतिक मुहानहरू सुक्दै गएकाले वृक्षारोपण र जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।
स्थानीय बन महासंघका अध्यक्ष खेमलाल महतारा, पार्षदहरू शारदा जिसी, गोपाल रावत र सात गाउँले कुलोका अध्यक्ष सुधिर केसीले खानेपानीको बढ्दो मागलाई सहजरुपमा व्यवस्थापन गर्न मुहान संरक्षण नै पहिलो सर्त भएको बताउनुभयो ।
तुलसीपुर खानेपानीले हाल भोगिरहेको अभावलाई टार्न मुहानको सुधार गर्ने र बबई लिफ्टिङको पूर्णता दिने अध्यक्ष भण्डारीले बताउनुभयो । संस्थाका उपाध्यक्ष नारायण प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुवन भुषालले गर्नुभएको हो ।


