दाङ, २६ भदौ । भ्रष्टाचारविरोधी जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको खोजी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्नुअघि छलफलका लागि बोलाइएका जेनजी प्रतिनिधिले जंगीअड्डामै छलफल गरेर देशको भविष्यबारे खाका प्रस्तुत गरेका हुन् ।
नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार, झण्डै ९ घन्टा लामो छलफलपछि जेनजी प्रतिनिधिका तर्फबाट सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएको छ ।
यद्यपि केही समूहसँग अझै टुंगो लाग्न बाँकी छ । बुधबार बेलुकी जेनजी प्रतिनिधिले कार्कीको नाम प्रस्ताव गरेको विवरण सार्वजनिक भएलगत्तै एउटा समूहले जंगीअड्डाको बाहिर गएर नारावाजी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन सेनाले माइकिङ समेत गर्नु परेको थियो ।
सैनिक अधिकारीहरुका अनुसार, संवादका लागि जाने भन्दै सम्पर्क गर्ने प्रतिनिधि धेरै भएपछि कुराकानी गर्न कतिपय अवस्थामा समस्या समेत भएको छ । राष्ट्रपति वार्ताका लागि आह्वान गरेलगत्तै संवादका लागि नाम टिपाएका जति अधिकांशलाई बुधबार सेनाले छलफलका लागि बोलाएको थियो । तर, बिहान १० बजेतिर २० जनाभन्दा बढी भेला भएपछि प्रधानसेनापति अशोकराज सिग्देलले पहिले छुट्टै बसेर साझा मत लिएर आउन भन्नुभएको थियो ।
नेपाली सेनाले चाहिँ अहिले वार्ता चलिरहँदा दुर्गा प्रसाईं, हर्क साम्पाङ र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत समेट्न खोजेको छ । यी पक्षलाई बाहिर राखेर अघि बढ्दा भोलि फेरि समस्या हुनसक्ने नेपाली सेनाले जनाएको छ ।
प्रसाईंले प्रधानसेनापति सिग्देलसँग भेट गरेको तस्वीर समेत सार्वजनिक गरेर जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफूलाई बालेन वा सुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताउनुभएको छ ।
उहाँपछि हर्क साम्पाङले जंगीअड्डामा प्रधानसेनापतिसँग भेट गरेका थिए । नेपाली सेनाका उच्च अधिकृतहरुले संवादबाटै समस्याको समाधान निकाल्नुपर्ने बताइरहेका छन् । त्यसका लागि सेनाले सहजिकरण मात्र गर्ने उनीहरुको दाबी छ ।


