
सल्यान, २२ जेठ । सल्यानको कपुरकोटमा आज विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइएको छ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ वनस्पति अनुसन्धान केन्द्र सल्यानको अगुवाइमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कपुरकोट सब डिभिजन वन कार्यालय, बजार व्यवस्थापन समिति, कपुरकोट गाउँपालिका, स्थानिय विद्यालय, वित्तीय संस्था र सर्वसाधारणको सहभागिता रहेको थियो ।
बिहान कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कार्यक्रमको उद्घाटन गर्नु भएको हो । त्यसपछि कपुरका विरुवा रोपेर सरसफाइ सुरु गरिएको थियो । कार्यक्रम कपुरकोट बजारका विभिन्न क्षेत्र हुँदै मूलपानी बजारसम्म पुगेर सम्पन्न भएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो ।
कार्यक्रम समापनमा सब डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मुकुन्द पौडेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । वनस्पति अनुसन्धान केन्द्र सल्यानले विगत पाँच वर्षदेखि निरन्तर सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गर्दै आएको छ ।
गत वर्ष कपुरकोट गाउँपालिकाको सहकार्यमा ट्राफिक चोकदेखि मूलपानी वनस्पति उद्यान हुँदै मूलपानी बजारसम्म करिब चार किलोमिटर क्षेत्रफलमा कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष र तेजपातका विरुवा रोपेर ग्रीन बेल्ट जोन निर्माण गरिएको थियो ।