२०८२ जेष्ठ ५ गते सोमवार

दाङमा रेविजविरुद्धको खोप अभाव, बिरामीहरु उपचार बिना फर्कन बाध्य


दाङ, १० बैशाख । रेविजविरुद्धको खोप अभाव भएपछि दाङका विभिन्न सरकारी अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरू उपचार नपाएर फर्किनुपरेको छ । सरकारी अस्पतालमा खोपको अभाव हुँदा कतिपय बिरामीले निजि अस्पतालबाट महंगोमा रेविज विरुद्धको खोप लगाउनुपर्ने बाध्यता छ ।

दुई दिनअघि कुकुरले टोकेपछि राप्ती प्रादेशिक अस्पतालमा आएका शान्तिनगर–३ चिराघाटका सन्दीप गन्धर्वले खोप लगाउन नपाउँदा त्यसै घर फर्कनुपरेको छ । त्यसैगरी, तुलसीपुर–५ रानीजरुवाका १६ वर्षीय निराजन खड्कालाई पनि घरमै पालेको कुकुरले टोकेको थियो । उहाँले पनि राप्ती प्रादेशिक अस्पतालमा खोप नपाएपछि बाहिरको मेडिकलमा ६ सय रुपैयाँमा किनेर खोप लगाउनुभएको छ ।

राप्ती प्रादेशिक अस्पतालका ड्रेसिङ तथा खोप शाखाका सुनिता पोख्रेलका अनुसार आइतबारदेखि खोप सकिएको छ । दैनिक ३० जना भन्दा बढीलाई फिर्ता पठाउनु परेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेश आपूर्ति महाशाखाबाट एक पटकमा ८० देखि १०० भाइल मात्र खोप आउँछ भने दैनिक ४० जनासम्मले खोप लगाउँदै आएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि यस्तै समस्या देखिएको छ । प्रतिष्ठानकी प्रशासन इञ्चार्ज रमिता गौतमले वार्षिक १४० भ्याक्सिन आउने तर ४ सयभन्दा बढी बिरामी पुग्ने जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति महाशाखाका फोकलपर्सन हरि आचार्यले संघीय सरकारबाट नै खोप आपूर्ति हुने भएकाले अभाव भएको बताउनुभयो । मासिक ६ हजार ५ सय खोप आवश्यक पर्छ तर तीन सयदेखि पाँच सय भाइल मात्र आउने गरेको उहाँले बताउनुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस