२०८२ जेष्ठ ५ गते सोमवार

स्थानीय वस्तुको उत्पादन र प्रवद्र्धनमा सरोकारवालाको जोड


दाङ, ६ बैशाख । स्थानीय वस्तुको उत्पादन र प्रवद्र्धनमा सरोकारवालाले चासो दिएका छन् । सरोकारवालाले आर्थिक विकास र समृद्धिका लागि स्थानीयको वस्तुको उत्पादन र बजारीकरण गर्नमा जोड दिएका हुन् ।

लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेश सांसद धनबहादुर मास्कीले अहिले पनि धेरै वस्तु आयात गरिरहेको अवस्थामा स्थानीयस्तरमा उत्पादन गरी आत्मनिर्भरताको बाटोमा जान सकिने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले शनिबार तुलसीपुरमा आयोजना गरेको ‘स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धनमा हाम्रो भुमिका’ विषयक अन्तरक्रियामा सरोकारवारवालाले स्थानीय वस्तुको उत्पादन र व्यवसाय प्रवद्र्धनमा जोड दिएका हुन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई नेपालको उद्यमशील शहरको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायको प्रवद्र्धनका लागि रात्रिकालिन बजार संचालन गर्न सकिने बताउनुभयो ।

ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष समेत रहनुभएका पाण्डेले पर्यटकियस्थलको विकास र प्रचारप्रसार गरी आर्थिक रुपान्तरण गर्न सकिने बताउनुभयो । उहाँले बबई नदिमा डुंगा चलाउने, र्‍याफ्टीङ संचालन गरी पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

पछिल्लो समय चर्चामा रहेको तुलसीपुर–११ मोतिपुर बबई नदिमा युवाहरुले संचालनमा ल्याएको डुंगाले पर्यटन क्षेत्रका विकास हुँदै गरेको अवस्थामा युवा व्यवसायीलाई निराश बनाउने काम भएको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले आर्थिक विकासका लागि राजनीति स्थिरता आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले पनि स्थानीय वस्तुको उत्पादन र बजारीकरणका लागि आवश्यक नीति निर्माण गरिरहेको भन्दै नागरिकको सहयोग र राज्यको नीतिले स्थानीय वस्तुको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले स्थानीय उत्पादन बजारीकरणका लागि अनलाइनबाटै खरिद गर्न सकिने गरी अनलाइन पोर्टल निर्माण गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय महिला उद्यमीको संख्या बढ्दै गएको भन्दै संघको आगामी साधारणसभामा महिला उद्यमी संघ गठन गरीने पनि बताउनुभयो ।

आन्तरिक राजश्व कार्यलय तुलसीपुरका कर अधिकृत हिरानन्द देवकोटाले राज्यले व्यवसायीलाई हतोत्साहित भन्दा उत्साहितरुपमा कर बुझाउने वातावरणको निति लिएको बताउनुभयो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गूरूङ, नेकपा एमाले तुलसीपुरका अध्यक्ष रूप बहादुर खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार शेषुराम भण्डारी लगायतले आत्मनिर्भर अर्थतन्त्रका लागि एकले अर्कोलाई आरोप प्रत्यारोप भन्दा आफैबाट सुधार हुनुपर्ने बताउनुभयो ।

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका सूचना अधिकारी विवेक कुमार सुवेदीले स्थानीय वस्तुको उत्पादनमा कार्यालयले आवश्यक ज्ञान, सिप, परामर्श दिने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा व्यवसाय संवर्दन केन्द्रका सदस्य लक्ष्मण विश्वकर्मा, तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार खड्का लगायतले हरेक नागरिक उत्पादन र उद्यमसंग जोडिनुपर्ने बताउनुभयो ।

यस्तै ट्रान्सपोर्ट व्यवसायी चिरञ्जीवी पौडेलले सडकमा ढुक्कले ट्रान्सपोर्टका गाडीहरु संचालन गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमको सहजीकरण महासचिव भद्र बहादुर वलीले गर्नुभएको हो । यसैबिच महासंघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो बिमोचन गरेको छ । महासंघले हरेक वर्ष झैँ यसवर्ष प्रकाशन गरेको भित्तेपात्रो शनिबार बिमोचन गरेको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस