
दाङ, ३ बैशाख । लामो समयदेखि अलपत्र परेको तुलसीपुर पिपल बोर्ड–आलुमण्डी हुँदै रानीजरुवा जोड्ने सडकको अवस्था सुधार गर्न मागसहित स्थानीय युवाहरूले आन्दोलनको घोषणा गरेका छन् ।
बाटो निर्माण संघर्ष समितिका युवाहरूले बारम्बार झुक्याउने आश्वासन मात्रै दिने काम भएको भन्दै आजदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
बाटो बनाउँ संघर्ष समितिका सदस्य दिपक काफ्लेका अनुसार आज तुलसीपुरको पिपलबोटमा एक घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । उहाँले दिउँसो १२ बजेदेखि १ बजेसम्म सवारी आवागमन ठप्प पारिने बताउनुभयो ।
उहाँले सडक बिगत तीन वर्षदेखि अलपत्र रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केही समयअघि सो सडकमा होलिको अर्को दिन देखि नै कालोपत्रेको काम सुरु हुन्छ’ भन्ने आश्वासन दिनुभएको थियो । तर वैशाख महिनासम्म आइपुग्दा पनि कुनै काम नभएपछि आन्दोलनमा उत्रनुपरेको काफ्लेले बताउनुभयो ।
स्थानीयहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायहरूले आश्वासन बाहेक कुनै ठोस काम नगरेको गुनासो गरेका छन् । पिपल बोर्ड–आलुमण्डी हुँदै रानीजरुवा जोड्ने सडक तुल्सीपुरको मुख्य व्यापारिक मार्ग पनि हो ।