
दाङ, २२ चैत ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आन्तरिक तयारी थालेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी वर्षका लागि बजेट निर्माण प्रथम चरणको काम चल्दै गरेको जनाएको हो । जसअनुसार बजेटको आकार घटाउने गरी आन्तरिक गृहकार्य भइरहेको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३८ अर्ब ९७ करोड विनियोजन गरेको थियो । तर फागुन मसान्तसम्म कुल बजेटको ३१ दशमलव ६७ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालु ३४ र पुँजीगत खर्च २९ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव एवं प्रवक्ता अमित पौडेलका अनुसार अहिले ३२/३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी प्ररदेश सरकार लागिपरेको छ ।
सोही आधारमा चैत अन्तिमतिर मन्त्रालयहरूलाई सिलिङ प्रदान गर्ने तयारी भएको हो ।
अहिले संघबाट पठाएको सिलिङ र आन्तरिक स्रोत अवस्था हेर्दा चालु आर्थिक वर्षभन्दा करिब २० प्रतिशतले बजेट घट्ने पौडेलले बताउनुभयो । सोही आधारमा मन्त्रालयहरूलाई सिलिङ दिने योजना रहेको पनि उहाँको भनाइ छ ।
बजेटको विषयमा मन्त्रालयसँग छलफल भए पनि योजना आयोग र मन्त्रिपरिषद्ले निर्धारण गरेर तय हुने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्नेलगायत विषयबारे छलफल भएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २६ वटा आयोजना छन् ।
केही दिनअघि बसेको बैठकमा मुख्यमन्त्री चेत नारायण आर्चायले समेत घाटा बजेट नल्याउने बताउनुभएको छ । हाल चालु बजेटमा टुक्रे आयोजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएपछि सरकारले निरुत्साहित गर्ने रणनीति अवलम्बन गर्न लागेको जनाइएको छ । संघबाट गत आर्थिक वर्ष समानीकरणतर्फ २ अर्ब रुपैयाँ लुम्बिनी प्रदेशलाई प्रदान गरिएको छैन भने चालु आर्थिक वर्षको तेस्रो किस्तामा पनि पूरा रकम प्रदेशमा आएको छैन ।