
दाङ, १२ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सोमबार बिहान १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
सोमबार देखि नै आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको २९ घण्टा हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डिएसपी शाहले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि दाङ लगाएत बाँके र रुपन्देहीबाट पनि दमकल ल्याइएको उहाँले जानकारी दिनुभयो । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।
दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, नेपागंज उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ ।
उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डिएसपी शाहले जानकारी दिनुभयो ।
आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । आगलागिको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।