
सल्यान, ४ चैत । कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
गाउँपालिकाले आफ्ना नीति, कार्यक्रम, बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेल, छ वटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सबै वडाका वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार जीतप्रसाद आचार्य, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सेवाग्राहीहरूले विभिन्न विषयमा प्रश्न उठाएका थिए । मुख्य रूपमा शिक्षा, स्वास्थ्य, सडक निर्माण, खानेपानी, कृषि प्रवद्र्धन, रोजगारी सिर्जना, विपन्न वर्गका लागि सञ्चालन गरिएका कार्यक्रमहरू, सामाजिक सुरक्षा भत्ता वितरण, प्रशासनिक सेवा प्रवाह, पारदर्शिता तथा सुशासनका विषयमा जनताले चासो व्यक्त गरेका थिए ।
जनप्रतिनिधिहरूले नागरिकले उठाइएका प्रश्नहरूको जवाफ दिँदै गाउँपालिकाले हाल सञ्चालन गरिरहेका विकास योजनाहरू र भावी योजनाबारे जानकारी गराएका थिए । प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले पालिकाले पारदर्शी रूपमा काम गरिरहेको र सेवाग्राहीका गुनासाहरू सम्बोधन गर्न तत्पर रहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सेवाग्राहीहरूले उठाएका समस्याहरू गम्भीर रूपमा लिइने र समाधानका लागि पहल गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले गाउँपालिकाले विगतमा गरेका कामहरूलाई विश्लेषण गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिन जनप्रतिनिधिहरू प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ, सल्यान शाखाका उपाध्यक्ष शिवलाल डागीले गर्नुभएको हो ।