२०८२ बैशाख १० गते बुधवार

घोषणाको चार वर्षसम्म पनि बनेन डिपिआर

दाङ, २७ फागुन । दाङको घोराहीमा औद्योगिक क्षेत्र घोषणा भएको चार वर्ष बित्दा पनि अझै डिपिआर निर्माण हुन सकेको छैन् । सरकारले उद्योग स्थापनामा सहजता ल्याउने उद्देश्यले चार वर्ष अघि घोराही उपमहानगरपालिका वडा नं. ३ र ५ को भूभागलाई समेट्दै औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।

घोषणा भएको करिब चार वर्ष बितिसक्दा पनि डिपिआरको कामले पूर्णता पाउन सकेको छैन । २०७७ साल माघ ११ मा बसेको मन्त्रिपरिषद् बैठकले दाङमा औद्योगिक क्षेत्र घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पाँच सय ४९ बिघा क्षेत्रफललाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गरेको छ । घोषणाबाहेक नागरिकले देख्ने गरी कुनै काम हुनसकेको छैन् । औद्योगिक क्षेत्र घोषणा हुँदा जिन्लामा स्थापना हुने उद्योगलाई सहज हुने अपेक्षा नागरिकले गरेका थिए तर औद्योगिक क्षेत्र नहुँदा उद्योगमा लगानीकर्ता समेत जिल्लामा आउनसकेका छैनन् ।

औद्योगिक क्षेत्रको कार्यान्वयनका लागि सरकारी निकाय तथा राजनीतिक दलको समेत प्रभावकारी भूमिका देखिएको छैन ।

लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको छ । उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि संघले २०७१ सालदेखि पहल गरेको थियो । लक्ष्मीपुर औद्योगिक क्षेत्रको डिपिआरको काम अगाडि बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बताउनुभयो ।

औद्योगिक क्षेत्रको काम देखिने गरी अगाडि बढ्न नसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले बताउनुभयो । संघले पटक–पटक सम्बन्धित निकायमा पहल गरे पनि बजेटको व्यवस्था नहुँदा काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस