२०८३ भाद्र ३ गते बुधवार

दाङ भ्याली मावि तुलसीपुरमा आजदेखि खेल सप्ताह सुरू


दाङ, १५ माघ । दाङ भ्याली मावि तुलसीपुरमा मंगलबारदेखि खेल सप्ताह सुरू भएको छ । विद्यालयको वार्षिक कार्यतालिका अनुसार खेल सप्ताह सुरू गरिएको हो ।

विद्यालयका ज्येष्ठ अभिभावक गुरु प्रसाद आचार्यले पानसमा बत्ती बालेर खेल सप्ताह कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले उद्घाटनपश्चात विद्यालयको इतिहासमै पहिलो पटक अभिभावक, विद्यार्थी, शिक्षक, र कर्मचारीले संयुक्त रूपमा बजार परिक्रमा गर्दै प्रभातफेरी गरेको विद्यालयका अध्यक्ष तिलक साहुले जानकारी दिनुभयो ।

प्रभातफेरीपछि विद्यालय परिसरमा पूर्व–प्राथमिक तहका विविध खेलहरू सम्पन्न गरिएका छन् । कुर्सी दौड, तातो आलु, चकलेट दौड, चम्चा दौड र १०० मिटर दौड लगायतका खेलकुद प्रतियोगिता भएको हो । खेलहरूमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

विद्यालय सञ्चालन समिति अध्यक्ष तिलक साहुले खेल अवधिभर अभिभावकको उत्साहजनक सहभागिताले विद्यार्थीहरूमा थप उत्साह र खुशी थपेको बताउनुभयो ।

कार्यक्रम संयोजक सुदीप केसीले खेल सञ्चालनमा सहजीकरण गर्नुभयो भने शिक्षक कृष्ण गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको हो । कार्यक्रमको समापनमा विद्यालयकी प्रधानाध्यापक शिला अर्यालले कक्षा १ देखि १२ सम्मका खेलहरू भोलीदेखि सुरू हुने बताउनुभयो ।

खेल सप्ताहको अन्तिम दिन सरस्वती पूजाको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रथम, दित्तीय, र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस