
सल्यान, १ माघ । सल्यानको कपुरकोट हाटबजारबाट ६ महिनाको अवधिमा ५५ करोड बढीको कारोबार भएको छ । हाट बजार संचालन समिति अध्यक्ष तिलक शर्माका अनुसार पछिल्लो छ महिनामा कपुरकोट हाट बजारमा ५५ करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको तरकारीको कारोबार गरेको हो ।
यसैबिच संघीय सांसद ज्ञानेन्द्र शाही र अनिसा नेपालीले कपुरकोट गाउँपालिकास्थित हाट बजारमा अनुगमन गरी स्थानीय व्यवसायी, हाट बजार संचालन समिति तथा जनप्रतिनिधिसँग विविध विषयमा छलफल गर्नुभएको छ ।
कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, राजनैनिक पाटी प्रतिनिधिहरू, पत्रकार महासंघ कर्णाली प्रदेश परिषद सदस्य जित प्रसाद आचार्य लगायतको उपस्थिति थियो ।
छलफलको क्रममा कपुरकोटमा भइरहेको बेमौसमी तरकारी खेती र त्यसबाट भइरहेको आर्थिक गतिविधिबारे जानकारी गराइएको छ । कपुरकोटलाई बेमौसमी तरकारी उत्पादनको महत्त्वपूर्ण केन्द्रका रूपमा चिनाउने सम्भावना बलियो बन्दै गएको सांसद शाहीले बताउनुभयो ।
बेमौसमी तरकारी खेतीले स्थानीय कृषकहरूको आम्दानीमा वृद्धि गर्नुका साथै समग्र क्षेत्रमा आर्थिक समृद्धि ल्याएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । अनुगमन कार्यक्रममा बजार व्यवस्थापन, उत्पादकहरूलाई प्रोत्साहन, तथा कृषि प्रविधिको प्रभावकारी प्रयोगबारे पनि छलफल भएको छ ।